साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निशा निःशब्दका पाँच गजल

१.
यो झरिरहेको आँसुमा अनेकौँ कहानी छ
जसमा सबै भन्दा बढी हजुरकै लगानी छ।

निशा निशब्द

आउनुस् आफ्नो भागको देश लुटेर जानुस्,
नत्र नसोधिदिनुस् के कति आम्दानी छ ।

रेट्छौ अनि नछिनाली नूनचुक छरिदिन्छौ,
तिम्रो यै त मेरो भन्दा ठ्याक्कै उल्टो बानी छ।

खलैबाट साहुको घर भित्रियो अन्नबाली,
खै के पस्किनु अब चुलामा बाँकी खरानी छ।

थाङ्ने भन्छौ माङ्ने भन्छौ म गाउँलेलाई,
मैलो मन सुकिलो मुख त तिम्रै राजधानी छ ।


 
२.

जब-जब तिम्रो घातले  प्यार गर्न थाल्छ
यमराजले मेरै छेउछाउ सवार गर्न थाल्छ ।
प्रेयसीले आधा  जिउँदो छाडेका प्रेमीलाई,
भट्टीका मदिराले विशेष उपचार गर्न थाल्छ ।
तिम्ले देको हिजोका गुलाफ फूल आज,
त्रिशूलले झैँ यो छाती वारपार गर्न थाल्छ ।
आफन्त या दुश्मन खै के भनूँ तिमीलाई,
यै हौ भन्न मेरो मन सधैँ दोधार गर्न थाल्छ । 

उस्ले मलाई दुश्मन जस्तो ठान्न थालेपछि,
मृत्युले नि आफन्तको व्यवहार गर्न थाल्छ ।

 
 
३.
जुन दिन देखि  मलाई तिम्रो भर लाग्दैन
मसँग तिमी हुनु, नहुनुको अन्तर लाग्दैन ।
म सानो पुतली, तिमी ठूलो दियो भैदियौ,
भैगो ! अब ती उज्यालोको रहर लाग्दैन ।
काँडा बिझ्दा नि दुख्यो झिक्दा नि दुख्यो,
तिमी नै काँडा भएसि दुखाइको डर लाग्दैन ।
उस्को साथ भन्दा तिम्रै घात प्यारो लाग्छ,
सिन्दुरपोते चुराले देको घर पनि घर लाग्दैन। 

संसार हेर भनी चस्मा लाइदिएथ्यो जस्ले,
उसैलाई देखेपछि अन्त कतै नजर लाग्दैन ।

 
 
४.

यौटा कर्मघर हो जुन आफ्नो संघार लागेन
अर्को तिम्रो घात हो जुन अत्याचार लागेन ।
आफ्नै श्रीमान्द्वारा बलात्कृत हुन परेपछि,
मलाई कुनै पुरुष पनि समझदार लागेन ।
ऋण लाग्यो, दिन लाग्यो सबै सधैँ लाग्यो,
कुन चैँ दशा छ भनूँ जुन बारम्बार लागेन ।
यमराजले तेलको  घेरो नाघी आएदेखि,
साँच्चै  धेरै भो  मलाई यी तिहार लागेन ।
 
 
५.

मेरो लास सँगै यी  तस्विरहरू जलाइदिनुस्
उस्को इच्छा यै छ बिन्ती ठेस नलगाइदिनुस् ।
ए ! मलामीहरू मेरो हारमा आँसु नखर्चिनुस्,
उसको जितमा सामेल हुनुस्, बधाई दिनुस् ।
लगन बित्ला उस्को, साइत बिग्रेला जन्तीको,
मेरो लासलाई हतार छैन बरु बिसाइदिनुस् ।
सिसालाई दुख्दैन भन्ने अहम् हुन्छ जस्लाई,
फ्यालिनु पर्छ टुक्रिएसी यत्ति सिकाइदिनुस् । 

त्यागी बन्न परे उस्लाई भोलि, जोगी बन्न परे,
म जलेको यो खरानी उस्लाई थमाई दिनुस् ।

 
सिन्धुली  
प्रतिक्रिया
Loading...