रामचन्द्र भट्टराई

दिनहुँ पुऱ्याए नि साहुको भारी डाँडापारि
भरियाको जिन्दगी यो रहिरह्यो सधैँ वारि

उमेर ढल्यो कपाल फुल्यो छाला चाउरियो
अहँ भारीबिना जुटेन जाउलो नुन तरकारी

ऋण लियो चुल्हो बाल्यो सधैँ दास साहूको
कृषी उद्यम गर्न मन थियो छैन खेतबारी

दिनहुँ उकालो तप्प पसिना चुहिएको बेला
केही बेरलाई सुस्ताउन साथी छ चौतारी

धेरै थिए इच्छा अनि कठै मेरा ती सपना
बाँचुन्जेलको सहयात्री रहेछ यही भारी