के नै  पो बाँकी रहन्छ र बेच्नलाई इमान बेचेपछि,

सूर्य लाग्छ जूनकीरी पनि उज्यालो बिहान बेचेपछि ।

 

आसे हुनु नै त सदा नियति बन्छ कठै ! पुछारको

लहैलहैमा छिमेकीलाई नदीको सिरान बेचेपछि ।

 

के गरू ? वर्षौँपछि आँखामा आँसु लिएर आयौ तिमी,

मसॅंग आँसु नै बाँकी छ तिमीलाई मुस्कान बेचेपछि ।

 

सरकार भन्छ, दोहोरो अङ्कले बढिरहेछ समृद्धि,

मृगौला बेच्छ किसान अपुग भएर धान बेचेपछि ।

 

तब जिब्रो पनि दास हुन्छ अरूकै खटनमा चल्नुपर्ने

पैसाकै लागि यो खोपडी, आँखा र कान बेचेपछि।