निर्दोष एनपी

हुने नहुने देख्छन् यी आँखाले अचम्म लाग्छ
बच्चा जन्मायो अर्को बच्चाले अचम्म लाग्छ
सुने ! छोरो सहरमा सुनको महल बनाउँदै छ,
गाउँमा चप्पलै पाएनन् बाले अचम्म लाग्छ
बुहारी बोकेर घर छोडेको  छोरो फर्किएन,
आमा मरिन् उसकै सम्झनाले अचम्म लाग्छ
भिखारी! मन्दिरअगाडि  हात थापिरहेथ्यो,
ती मान्छेले दूध ढुङ्गामा फाले अचम्म लाग्छ
ऊ आमा हो, दिदिबहिनी हो थाहा छ यद्यपि,
गरेकै छन् बलात्कार दुनियाँले अचम्म लाग्छ
लामो पुच्छर सिङबिनाको यहाँ मान्छे बनाएर,
भगवान् पनि अचेल पछुताउन थाले अचम्म लाग्छ
तपाईँ  विद्वान् भएर  पनि  खामोस  हुनुहुन्छ,
रामायण लेखिसक्यो चोरडाँकाले अचम्म लाग्छ