१.
डोली चढी गयौ तिमी, कस्को घर भरी भयो
चोखो माया पोखिएर, हेर भुइँ भरि भयो

जून तारा थियौं पैले, कैले वारि कैले पारि
खस्यो तारा भुइँतिर, भुइँको धुलो सरी भयो

माथि नीलो पछेउरी, कल्पनाको गगन त्यो
तेतै पुग्न उडी जाने, तिम्रो माया चरी भयो

बाँधु बाँध्न नसकिने, फुक्दै जाने मन्को गाँठो
मन पग्लेर हिउँखोला, कैले बर्खे झरी भयो

२.
मन्को डाली छ्याप्प काटी, सार्ने कहाँ होला ?
तुषारोले खाने हो कि बार्ने कहाँ होला ?

दायाँ छाती बाँझै भयो, बायाँ मरुभूमि
पिरतीको बर्खेझरी, पार्ने कहाँ होला ?

मुटुभित्र खाली छैन, रोप्ने कुनै ठाउँ
नरोपूँ त जुनीभरि, टार्ने कहाँ होला ?

आज हो कि भोलि कुन्नी, ओइलेर जाने
आँसुको–शीत् आँखाभरि, झार्ने कहाँ होला ?

खडेरीमा सुकाएर जिन्दगीका ती पालुवा
रहरको घाँटी थिची, मार्ने कहाँ होला ?