निर्दोष एनपी

असम्भव हुँदै होइन जुन दिनमा उदाउन सक्छ
रातका पछाडि नभाग्नुस् रातले फसाउन सक्छ
ठेस लाग्छन कैले काँंडा बिझ्छन हिड्ने बाटोमा,
हिड्दै जानुहोस् एकदिन गन्तव्य आउन सक्छ
साँच्चीकै पीडा छ भने मनमा मजाले रुनुहोस्,
दुईथोपा आँसुले पनि कैयौँ दुःख बगाउन सक्छ
ती जुत्ता लगाएर कृपया मलाई नडराउँनुहोला,
महाराज! कमिलाले पनि हात्ती ढलाउन सक्छ
कसैलाई चोट दिनुभन्दा पहिले एकचोटि सम्झिनू,
दिन कुकुरको पनि आउँछ पालो फर्काउन सक्छ
जादू हेर्न महोत्सव जानै पर्दैन यत्ति विचार गर्नू,
तिमीले खाएको देखेर मात्रै बा अघाउन सक्छ
लगेर जाउँ  केही सम्झनाहरू  तिम्रो हिस्साका,
याद आउँदा हेर्नू नत्र यो यादले सताउन सक्छ