किन यसरी बद्लिदैछ मान्छेको चाहना आजभोलि
माया भन्दा ठूलो भा’छ महॅंगो यो गहना आजभोलि

सोच्छु बा आमाले कसरी हुर्काए होलान् हामीलाई?
गाह्रो छ एउटै बच्चाको खर्च, गर्न सामना आजभोलि

सुविधाले नै मिल्ने भए सुख शान्ति मान्छेको मनमा
किन बढ्थ्यो यति बिघ्न क्रोध र उत्तेजना आजभोलि

गर्छन् जसले दर्शन र चिन्तनका ठूला ठूला कुराहरु
सक्दैनन् सुन्न तिनैले स्वस्थ आलोचना आजभोलि

हिजो बिरामी भेट्न अस्पतालसम्म पुग्थे आफन्तहरु
फेसबुकमै कैद छ औपचारिक कामना आजभोलि

 

घोराही, दाङ
हाल: टेक्सस, अमेरिका