युवराज भण्डारी

उनी भन्छिन् ऊ धनवान् छ उसको ठूलो महल छ
आफ्नो सम्पत्ति भन्नु माया खाली यही गजल छ।

भन्छिन् आश नगर मेरो म फर्किन्नँ अब कहिल्यै
मैले बुझेँ मेरी प्रिय तर बुझ्दैन यो मन पागल छ।

७२ सालको भूकम्पमा घर ढल्दा पनि आफू बाँचेथेँ
आज मर्छु पक्कै प्रलयकारी विछोडको हलचल छ।

मायाको नशाले बेहोस हुँदा रहेन पर्वाह दुकानको
होस खुल्दा न उनको साथ न त मेरो पसल छ।

उदाउँछिन् जून भनी पर्खी बस्छु हरएक रातहरु
कहिले ग्रहणले छेक्छ कहिले सगरभरि बादल छ।

ईश्वर धेरै पुकारे मैले भो जान्नँ मन्दिर पनि अब
स्वर्ग उनैलाई होस् प्रभु मेरो भागमा मरुस्थल छ।

तनहुँ,
हाल: मन्ट्रियल, क्यानाडा