१.

अबदेखि देवी–देउता, पुज्न छोड्दैछु
भगवान् छन् यहाँ भन्ने, बुझ्न छोड्दैछु

पुकारेँ धेरै उनको जीवनरक्षाका लागि
व्यर्थ भयो अब भजन, सुन्न छोड्दैछु

डढे सबै कल्पनाका हरियाली हाँगाहरु
फूल चुँडेर पाप गरेँ, चुँड्न छोड्दैछु

ढुङ्गा रै’छ देउता भन्ने, यो संसारमा
पूजा गर्न मन्दिर अब, घुस्न छोड्दैछु ।

 

 

 

२.

रमेश दाहाल

आफ्नो लागि आफ्नै जीवन, जिउँदो लास बनेपछि
संसार छोड्नै पर्ने मेरो, यही खास बनेपछि

रहर छैन दुनियाँमा, छटपटाइ बाँच्नलाई
मलाई छोडी उनी, द्यौताको पास बनेपछि

सपना केवल सपना भो, भएन नि साँचो
साँचेका रहर सबै, उडेर बतास बनेपछि

निम्ता गर्ला यमराजले, कति बाँचुला र म
हाँस्छ होला दुनिया पनि, स्वर्गवास बनेपछि ।

 

३.

देख्छु यहाँ सबैको रगत, रातै देख्दैछु
जातले गर्दा भैरहेको, घातै देख्दैछु

नामले चिन्न सकिन्छ, किन चाहियो घर
मान्छे उस्तै तर भिन्न, जातै देख्दैछु

सडकको फोहोर टिपी खान्छन् गरिब
धनी भन्नेहरूले फालेको, भातै देख्दैछु

घुसखोरी हुनुपर्छ यहाँ, पैसा ठूलो ठान्छन्
लुकिछिपी कुरो मिलाउने, बातै देख्दैछु

कर्मचारी आवश्यकता रे, गर्छन् विज्ञापन
जहाँ हेरेनि जागिरमा त, नातै देख्दैछु

नहुनेलाई जीवन धान्न, हातमुख जोड्न गाह्रो
हुनेलाई त झन् खातमाथि, खातै देख्दैछु

हेप्छन् चेप्छन् गरिबलाई धनीहरूले
धनीले गरिबलाई हान्ने, लातै देख्दैछु ।