किन आउनु तिम्रो शहर सधैं हार्नु पर्छ
स्वार्थ अनि चाकडीको ताली मार्नु पर्छ

फुर्सद पनि कहाँ छ र, तिम्रो शहर झर्ने
आफ्नो यता मकै पाक्यो झुत्ता पार्नु पर्छ

सडक पोली सेल्फी हान्न रहर पनि छैन
बर्खा लाग्यो हलो जुवा बेंसी झार्नु पर्छ

आत्मा मेरो रमाउँदैन डिस्को पस्दा पनि
गैह्री खेतमा पानी पुग्यो गोरु नार्नु पर्छ

कस्तो हुन्छ कक्टेल पाटी मैले देख्या छैन
कहिलेकाहीँ मकै भुटी छाक टार्नु पर्छ ।
इलाम