ऋण लागे पनि मान्छेलाई दिन नलागोस्
आफ्नो जीवन यात्रा महत्त्वहीन नलागोस्

जिउँदा पनि निर्दोष र सोझो जीवन यहाँ
जथाभावी आरोप त्यो सङ्गीन नलागोस्

भलो चिताई सबको गर्नुपर्छ राम्रो काम
आफ्नो काम देखेर लाज घिन नलागोस्

घृणाको पहाड के चढी जानु जिन्दगानीमा
माया प्रेम बाँड्ने कुरा एकछिन नलागोस्

भनिन्छ झिङ्गाको सरापले डिङ्गा मर्दैन
कसैलाई अभिशाप एक दुई तीन नलागोस्

भने जस्तो माहोलको जिन्दागानी छैन
खर्च मात्र बढी हुने तर आम्दानी छैन

वर्षा याममा ह्वात्तै आउने भेल मात्रै
चाहिने बेला तिर्खा मेट्ने पानी छैन

आफ्नैहरू बन्दा पराई हिंड्नु छ एक्लै
आफ्नै सुरमा कसैको मनोमानी छैन

त्यो बग्दै जाने ढुङ्गा पनि बगरमै बस्छ
त्यो ढुङ्गामा यहाँ कसैको तानातानी छैन

रङ्गीन दुनियाँको कथा वाचन त गर्छौ
भन्नु पर्दा यो जीवनको खास कहानी छैन

खिजीदेम्बा–३, ओखलढुङ्गा
हाल: काठमाडौं