आँगनीछेउ फूल सयपत्रीको, अझै उस्तै छ बाबु यहाँ
दैला माथि सप्तरङ्गी टिको, अझै उस्तै छ बाबु यहाँ
सुकेको छैन मखमली माला, बगिरहेछन् तेलका धारा
तिमीप्रति प्यार दिदी बैनीको, अझै उस्तै छ बाबु यहाँ
जलिरहेछ बर्षौ देखि अटुट, तिम्रै नामको दीर्घायु दीप
झलमल उजेलो दीप बत्तीको, अझै उस्तै छ बाबु यहाँ
गाउँदै हिँड्थ्यौँ देउसी र भैलौ, खेल्थ्यौँ पिङ्ग सँगसँगै
माया र उमङ्ग साथी संगीको, अझै उस्तै छ बाबु यहाँ
फुटाए पनि दुःख ओखर सँगै, छुटाए पनि यो समयले
जस्तो थियो सन्सार दुःखीको, अझै उस्तै छ बाबु यहाँ
उडेर चरी टाढा गएपनि, जन्मघर सँग बिरानो भएपनि
दलिन माथि गुँड गौँथलीको, अझै उस्तै छ बाबु यहाँ !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२८ मंसिर २०८२, आईतवार 










