१.
एक एक याद हिरा बन्दै जान्छ
प्रेम विस्तारै मदिरा बन्दै जान्छ

प्रेमले चुमिएका केही ऐनाहरूमा
नफरतमा चिरैचिरा बन्दै जान्छ

फक्रन छोड्यो हेर हिलोमा कमल
इन्सान पनि धमिरा बन्दै जान्छ

चिराग जल्छ टुटेको दिलमा पनि
खुन बग्छ फेरि शिरा बन्दै जान्छ ।

२.
हर रोज मेरो देह र दिल मात्र गलाउँछ
के तिम्रा परेलामुनि आँशुको तलाउ छ?

सृष्टि चल्दैछ हेर कतै कयामत चल्दैछ
ईश्वरले के संसार मदिरा पिएर चलाउँछ?

मेरो घरका गमलामा फूल अझै फुलेनन्
खाडीले बादलमा रोपेर पानी फलाउँछ

गाग्री, लोटा, झुप्रो सबैथोक सुन बन्छन्
छुन्छ सपनामा पत्थर ‘पारस’ आउँछ।

३.
धागाहरू मोहका फेरि तानमा परे
आँखाहरू कसैको मुस्कानमा परे

फिक्का बने सारा सङ्गीत सुर पनि
अल्फाज कसैका मेरो कानमा परे

अझै मजबुत बन्लान् पखेटाहरू
अझै एकपल्ट म तुफानमा परे

खेल हुँ म वा खेलाडी थाहा छैन
जन्मसितै यी पाउ मैदानमा परे ।

धनगढी, कैलाली
ऐश्वर्य बहुमुखी क्याम्पस अध्ययनरत