औँशी रातमा त्यो चाँदनी, छाएको दिन कस्तो होला
मेरो सिन्दुर त्यो सिउँदोमा, लाएको दिन कस्तो होला

भेट्न आउँछु भन्दै तिमी, नआई कति सताई राख्छौ
माइती छाडी दुलही बनी, आएको दिन कस्तो होला

प्यासीले हो कुवा धाउने, कुवा किन आउँछ भन्छौ
प्यास मेट्न कुवा आफैँ, धाएको दिन कस्तो होला

अहिले निकै सताई मलाई, ठूलो भाउ खान्छौ माया
सगुन भन्दै तिमीले जुठो, खाएको दिन कस्तो होला

बिना स्त्री हुन्न श्री, भन्छन् आजकाल गाउँमा मलाई
जीवन भरका लागि तिमी, पाएको दिन कस्तो होला ।

 

रुम्बेक, दक्षिण सुडान