रश्मिला कवाङ ‘रश्मि’

यो डाँडाको हरियाली सौन्दर्य आज नि प्रहर उस्तै लाग्छ
धेरै भो नि नटेकेको यी पाइलाहरु र त कहर उस्तै लाग्छ।

सूर्यविनायकको जंगलमाथि लोभलाग्दॊ त्यो दृश्य आहा !
किन किन घरिघरि त्यहीँ जाने यो चञ्चल रहर उस्तै लाग्छ।

सुन्दर शान्त प्रकृतिको अनुपम उपहार नै पो हो कि जस्तो !
बालापनमा लडिबुडी गर्ने शान्त भक्तपुर शहर उस्तै लाग्छ।

शैशव बित्यो यहीँ, हरेक गल्लीमा छन् डोबहरू आफ्नो त
मानसपटलभित्र अझैं ताजा सम्झनाका लहर उस्तै लाग्छ।

कमलविनायकको वरपिपल अनि त्यो पोखरी त्यो मन्दिर
कोशौं टाढा किन नहोस् तन, हर नीलॊ सागर उस्तै लाग्छ।

सम्झियौ कि बिर्सियौ हजुर सावनका बर्खे खहरे अनि खोलाहरु
“रश्मि”लाई त उर्लेर बग्ने हर ज्वार्रभाटाको बगर उस्तै लाग्छ।

भक्तपुर
हाल: जर्मनी