यहाँ भगवानले पनि केही पाप गर्दै गए

मान्छेले त्यसैमा यसो थपथाप गर्दै गए

 

अवस्थाले पानी माग्छ, धारा माग्छ सरकार

आशा त डढेलोले सखाप गर्दै गए

 

गाउँमा फूलहरूको शोकसभा चलाउँदैछन्

सबै भमराले विदेश जाने आँट गर्दै गए

 

रुखहरूले उचाइको कल्पना किन गर्थे

दैनिक जसो बन्चराले नाप गर्दै गए

 

सपनाहरूको गन्ती कति धेरै चुलिन्थ्यो होला

मतपत्र झैँ खसाल्नु अघि छाप गर्दै गए ।

 

 

अचेल संस्कार मूल्य र मान्यता बाटोमा भेटिन्छ

हरेक बाटोको सत्यता बाटोमा भेटिन्छ

 

किताब रङ्गीन भए अनि साहित्य फुस्रो बन्दैछ

अनुभवका मिठा कविता बाटोमा भेटिन्छ

 

तिमीले मुटु दिएकी प्रेमिका अर्कैकी भइन्

खोज्नु गएर तिम्रो मुटु त्यता बाटोमा भेटिन्छ

 

तिमीले जन्माएको नाबालक कबाडी बटुल्दैछ

नेपाल आमा तिम्रो ममता बाटोमा भेटिन्छ ।

 

 

दुधौली-१, सिन्धुली