
१.
जिउनलाई पनि त जिन्दगी जस्तो आकार चाहिन्छ
कसलाई पर्खेर बसूँ? पर्खिन पनि त आधार चाहिन्छ
एक छाक खाना बिनाको भोको पेटले त मान्दैन
जिन्दगी पनि भोको हुन्छ यसलाई आहार चाहिन्छ
लिलाममा राखेकी छ रे उसले प्रेम सस्तो भाउमा
बुझिन, प्रेम बिकाउ हुँदैन यौवनको बजार चाहिन्छ
ढुकेर बस्छन् उनीहरू मलाई कानूनको भर लागेन
रातमा एक्लै घर फर्किँदा साथमा कटार चाहिन्छ
महान् बन्न सक्छ कमजोर देश जन्मिए कुनै सपूत
असल नियत चाहिन्छ दूरदृष्टि र विचार चाहिन्छ
बस्ती बगाउन सक्छ होस् गर्नू, नदी बढेर आउन सक्छ
तयारी गरिरहनू जिन्दगीमा बलियो किनार चाहिन्छ
२.
जिउँदैछु आज यस्तो यो कठिन जीवन
तिमीबिनाको उदास विरान यो एक्लोपन
दराजमा भरिएका छन् विदेशी लुगाहरू
निदाएको छ हेर ओढेर ऊ एक कफन
मायारूपी जालजस्तो झन् कसिँदै जाने
माया, प्रेम, रिस, राग यो कस्तो बन्धन?
ठूला साना धनी गरिब नाच्ने एक ठाउँ
कस्तो होला सबै अट्ने त्यो सुन्दर आँगन
सधैं बाँच्नुपर्ने भए जिउँदै मर्थ्यो मान्छे
एकदिन मर्नुपर्ने कति राम्रो यो चलन ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

