के किन्न पाइन्न र यहाँ मूल्य के को छैन ?
मैले धोका पनि सित्तैमा खाने गरेको छैन

तिमीलाई सम्झेर जति नै दुःख लागोस्
तिम्रो रुमालले अझै आँसु पुछेको छैन

अझै प्रेमकथा पढ्ने रहर गर्छ हाम्रो समाज
यही समाजले कसैको प्रेम स्वीकारेको छैन

थोरै खुसी हुने बहाना पठाइदिन्छु भन्थ्यो
देश परदेश गएको छ दसैंमा फर्केको छैन

हुन त, तिमीलाई देख्न पाउँदिन के दु:ख मान्नु ?
यहाँ एउटा आँखाले अर्को आँखा त देखेको छैन

बिर्सेको कुरा झैँ याद दिलाउँछ पनि
दुबो हो, ओइलाउँछ पनि पलाउँछ पनि

यो ढुङ्गा तिम्रो बाटो छेक्न सक्छ
यही ढुङ्गाले पुल बनाउँछ पनि

हुँदैन सानो निहुरिनेहरुको मुटु पनि
दम्भ देखाउनेलाई झुकाउँछ पनि

तिम्रो साडीको पिन बनेर मेरो याद बसेको छ
सौन्दर्य बचाउँछ पनि बढाउँछ पनि

सानो धागो सिउँछ ठूलो तरबारको चोट
सियोले ठूलाबडालाई गुन लगाउँछ पनि

दुधौली-१ गिचिहानी, सिन्धुली