परदेशले यतै भुलायो दिदी, आइएन यो साल
टेकेर छाता आउनलाई लिन, पाइएन यो साल

फलेनन् होला काँकरी कैँडा, फलेनन् घिरौँला
झपक्कै फल्ने करेली झाल, लाइएन यो साल

बाँझै छ होला दैलाको गरो, रित्तै छ होला गोठ
ठेकीको दही, घारीको केरा, खाइएन यो साल

पलाए होला आँगनमा दुबो, पिँढीमा बुकीझार
खसेको थियो खरको पाली, छाइएन यो साल

खै कहाँ गए सँगैका सखा, कस्तो छ होला गाउँ !
सँगसँगै मादल बजाई तीज, गाइएन यो साल !