हुन्छ एउटा यस्तो खेल खेलौँ कुदौं खुट्टा मेरो बाँधेर हामी
होलीमा रमाउन है बेस्सरी मेरै मनको सीमा नाघेर हामी

बस्ती उजाड तिम्रो हैन मेरै पारौँ तिम्रो बलियो जालीले बारौँ
खाउँ स्वाद लिइ लिई कठै मेरो मनको अमिलो साँधेर हामी

चौका दाउ होस् तिमीलाई नै परोस् म फेरि जुवा हारी रहुँ
मेरो भाग्य सबै रित्याऊँ घरी घरी तिम्रो भाग्य साँचेर हामी

भै गयो तिमी नै राख कीर्तिमान म त्यसैमा रमाइ रहुँला
यो संसारको जादु हेरौंला तिम्रो कीर्तिमानमा बाँचेर हामी

सरल बाटो तिमी नै हिँड घुम्तीको त्यो कर्कश मैँ सहुँला
सहमतिमा गन्तव्य तिम्रै गाउँको भो जाउँला भागेर हामी ।

 

सिद्धिचरण-२, ठूलाछाप-निशंखे,‍ओखलढुङ्गा