सफल भए समृद्ध देश अभियानको यात्रा
बन्द हुन्थ्यो सायद वर्षैपिच्छे आउने जात्रा ।।

देश हाँक्नेलाई यति धेरै घोच्नु पर्दैनथ्यो
देशको हालत बारे यति सोच्नु पर्दैनथ्यो ।।

भन्नलाई त भन्छ सरकार उत्रिराछौं खह्रो
आगोसरी फैलिरा’छ भ्रष्टाचारको जरो ।।

कोरोनामा जोगिन त बेसारपानी खाने
भोको भुँडी जोगाउन भन्नुस् कता जाने ?

न त हीरा न त चाँदी न सुन चिन्छ सरकार
गोठ भनेर गरिबको घर जलाइदिन्छ सरकार !

सुनको बाकस पक्रिएर चाँदी बनाइदिन्छन्
त्यही चाँदी नि मिलिजुली आधी बनाइदिन्छन् ।।

विदेशबाट आयात हुने लाखौं बोतल रक्सी !
ब्राण्डेड किन नबनाउने हाम्रै लोकल रक्सी ?

चिन्नै गाह्रो ! को हो शत्रु ? कुन चाहिँ हो मित्र ?
सरकार ढाल्न कम्मर कस्छन् आफ्नै पार्टीभित्र !

कहिले खुमलटारमा बैठक कहिले भैंसेपाटी
कहाँ पुग्नु छ हौ कमरेड आफ्नै खुट्टा काटी !

पुष्पकमल अध्यक्ष भा झल्नाथ राष्ट्रपति !
प्रम भए माकुनेजी, गौतम भागमा कति ?

प्रमुख प्रतिपक्ष भन्ने काङ्ग्रेस पार्टी थियो ।
चालचुल छैन मुख टाल्नलाई सरकारले के दियो ?

देउवा पौडेल चर्को लडाइँ सभापति हुने
कालो मैलो भ’को काङ्ग्रेस खै त कहिले धुने ?

गाईभो थारो राप्रपाको भाँचिरहन्छन् हलो ।
जुट्न फुट्नै व्यस्त यिनले गर्लान् देशको भलो ?

हाम्रैमा छन् यति धेरै पार्टी कहीँ नभाका
डाक्टर पनि हलि भाछन् हेर्नुस् जसपामा ।।

ओए ! काजल जोगाएर हिंड्नु लाल कुर्ती
साह्रै कोमल चित्तका छन् यहाँ न्याय मूर्ति ।।

रमाईलो देश, भरिपूर्ण सुन्दरी र सुरा
जति सुन्यो उति उल्का कलाकारका कुरा ।।

चौध जिल्ला सेवेन्टीटु प्रदेशको देश हाम्रो
मुटु जलाई गीत गाउने गायक कति राम्रो ।।

अर्काको गीत तानतुन् पारी आफ्नो बनाइदिन्छन्
तीन लाख पाउन छ लाख रुपैयाँ बूस्टमा खन्याइदिन्छन् ।।

के का तालिम के का थिएटर केलाई चाहियो भेटी ?
टिकटक बाटै जन्मिराछन् चाहिँदो सेलीब्रेटी !

म्युजिक भिडियो खेलाइदिने डिरेक्टरसाब असल
दुई चार हजार हाल्न सके मुकुन्दे दाइ मोडल ।।

तीजको गीत कि रत्यौली हो छुट्याउनै गाह्रो
बोल्नै हुन्न बाझ्न आउँछन् तताएर पारो !

अछुतो त कहाँ छन् र साहित्यकारहरू
नकाटौं त कुरा भन्यो नकाटी के गरुँ !

यौनका कुण्ठा पोखिदिन्छन् प्रणयका नाममा
अश्लिल भन्यो भने भन्छन् जा देवता धाममा ।।

राम्रा राम्रा तरुणीका तस्बिर देख्नै हुन्न ।
सेतै फुल्या बाजे पुग्छन् “सो बिउटिफुल“ भन्न ।।

गुरु बाले भन्दिएसी कस्ले छेक्छ थुन्छ ?
काफिया को क नभानि वाह गजल हुन्छ !

यो आर्टिकल हेरिदेउन भन्दा टाढा भाग्छन्
काण्ड छ चाहिँ भन्नुपर्छ फोन गरेरै माग्छन् ।।

फरक छ है युटुबे र युटुबरमा साथी
युटुवे त लफङ्गा हुन् युटुबर चैं जाती ।।

गरिसाध्य छैन यहाँ युटुबेका कुरा
तीनका हातमा हुने त झन् माइक हैन छुरा !

सोझा सिधा मान्छे खोज्न गाउँघर तिर जान्छन्
दुईचार जना भाइरल बनाई डलर आफू खान्छन् ।।

ढ्याङ्रो ठोक्ने डाक्टर भए अप्रेसनमा धामी
गाली खाने सरकार भै’गो बाटो मुत्ने हामी ।।

गैरी खेत बेची किन्यो आइफोन एलेवेन प्रो
मोज त गर्नै पर्यो हामी यस्तै त हो नि ब्रो !

हामी नाथे बिग्रे पनि दुनियाँलाई के बाल
सप्रिरहोस् हाम्रो मूलुक जय जय नेपाल ।।