तिमी रै छौ स्वर्गकी अप्सरा आहा! स्वर्गैबाट झरेकी
बेजोड तिम्रो रुपले यस धरतीकी जलपरी नै रहेकी

उपमा त के छ र त्यस्तो तिमीलाई दिन सक्ने म सँग
रुप रङ्गले सु-सज्जित आहा! ऐश्वर्य नै तिमीमा सरेकी

तिम्रो वर्णनका निम्ति निस्केका शब्दहरू नि लजाउँछन् यहाँ
मृगनयनी आँखा तिम्रो गुलाबी ओठमा झनै हिस्सी परेकी

नागबेली तिम्रो जिउडाल अनि कलेजी मुस्कान छ आहा!
सुन्दरताकी खानी तिमी गुलाफी र कोमलताले भरेकी

रेशमी केश चुल्ठोमा तिम्रो पीयुषले भरेकी योवन कहाँको
छातीको आँगनमा फलेको “अमृत” यो दिलको मृगले चरेकी ।