चिसा वचनहरूले मुटुमा डाम लाग्यो,

गुलाबी सम्बन्धमा पूर्णविराम लाग्यो !

 

हातमा टिकट छ खल्तीमा पासपोर्ट छ,

बाको पुरानो खोकीले लगाम लाग्यो!

 

बुढेसकालमा एक मुठी पानी खुवाउन,

आज त्यै हरिलन्ठु छोरो काम लाग्यो!

 

दाम नभएरै गरिब अस्पतालमा बित्यो,

मुर्दा निकाल्न पनि मोटो दाम लाग्यो !

 

सिसामा यौटा आकृति देखिएको थियो,

मुस्कुराउन नपाउँदै फलाम लाग्यो !

 

बिधवा बुहारीको कन्यादान गरेको दिन,

सासूको मुहारमा अन्तिम घाम लाग्यो !

 

भारी मेहफिलमै ईशारा गरिदिन्छ्यौ,

तिमी भन्दा तिम्रा आँखा हराम लाग्यो !

 

सुमन काले