१
फेरिन्छ, तर फेर्छु भन्दैमा अकस्मात फेर्दैन
मान्छेले घडी फेर्छ दिन रात फेर्दैन
महोदय कबुल गर्नुस् झुट, खानुस् तुलसी पानी
छेपाराले रङ फेर्छ तर जात फेर्दैन
भगवानको मूर्तिमा शिर ठोक्काए पनि
सुखको खडेरी फेर्दैन, दुःखको वर्षात् फेर्दैन
मेरो साथीले साथ फेर्छ, स्तर फेर्छ औकात फेर्छ
तर मृत्युले सायद समय फेर्छ घाट फेर्दैन ।
२
आगो बन्नेहरू बन्नेछन् खरानी बिस्तारै
म बाफ थिएँ बन्दैछु पानी बिस्तारै
हिजो छोरी भन्थी बा बिस्तारै हिँड्नुस् न
आज बा भन्दैछन् ए नानी बिस्तारै
सरकार नौनी लुट्ने कानुन बनाउँदैछ
जनता घुमाउँदैछन् मदानी बिस्तारै
मैले हुँदैछन् बिचरा मेरा सर्टिफिकेटहरू
घचघच्याउँदै छ राहदानी बिस्तारै
रमेश लामिछाने (रोमस)
दुधौली -१, गिचिहानी, सिन्धुली
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला