होली खेल्न थालेछन्
आँसु छेप्न थालेछन्

खुट्टा तान्नेहरूले पनि
ढाड घचेट्न थालेछन्

सबैको आँखा निकालेर
चस्मा बेच्न थालेछन्

डोरीलाई भार पर्छ भन्दै
घाँटी रेट्न थालेछन्

हिजो क्रान्तिको नारा लेख्नेले
आज मेट्न थालेछन्

अँगेनो बिरामी भएछ
मैनबत्तीले सेक्न थालेछन्

माछाले सर्पहरूलाई
मसिहा देख्न थालेछन्

प्लास्टिकका फूलले पनि
मौरी भेट्न थालेछन्

खुट्टा नहुनेले पनि
टाउकोमा टेक्न थालेछन्

०००

सम्बन्ध चप्पल जस्तै भए
बीच बाटोमा छिनेर गए

उदाउनेलाई भ्रम छ उज्यालो
अस्ताउन पो आनन्दमय

ए ढुङ्गा अब तिम्रो छातीमा
फूल रोप्ने मेरो निश्चय

जमाना चटक नगर भन्छ
चटकेहरूको जमाना ए

अगुल्टाको कुकुर अनि
आफ्नी श्रीमतीको भय

उस्को उधारो पत्थर बुझाउन
सबैले इँटा पुर्‍याइदिए

कति माया गर्छौ सोध्दैछे
करोड, लाख, हजार, सय ।

 

दुधौली-1, सिन्धुली