छैन रे अवसर यो देशमा, बेरोजगारी चर्को छ
त्यसैले त होला विमानस्थलमा विदेसिनेको लर्को छ

नजाऊँ भन्दो हो त्यो मन, मरुभूमिमा पसिना बगाउन
फेरि देख्छ लालाबाला, श्रीमती, आमाको च्यातिएको बर्को छ

सयकडा तीनमा ब्याज काडेर, पाखो धरौटी राखी हिँड्दा’नि
आउँछ साहु सखारै घरमा, उत्तिकै झर्को र फर्को छ

सक्दैन पुरा गर्न रहरहरू, जति जोतिँदा’नि विदेशी माटोमा
सोच्छ अनि भाविले निधारमा लेखेको खै कस्तो धर्को छ

बित्छन् परदेशमै दशकहरू, सकिन्छ जोश जवानीको
कति चाँडै सकिने जीवन आखिर एकै सर्को छ

सुमन ‘शिरीष’ पोखरेल
सिरानचोक गा.पा.–४, गोरखा