होली खेल्न थालेछन्
आँसु छेप्न थालेछन्

खुट्टा तान्नेहरूले पनि
ढाड घचेट्न थालेछन्

सबैको आँखा निकालेर
चस्मा बेच्न थालेछन्

डोरीलाई भार पर्छ भन्दै
घाँटी रेट्न थालेछन्

हिजो क्रान्तिको नारा लेख्नेले
आज मेट्न थालेछन्

अँगेनो बिरामी भएछ
मैनबत्तीले सेक्न थालेछन्

माछाले सर्पहरूलाई
मसिहा देख्न थालेछन्

प्लास्टिकका फूलले पनि
मौरी भेट्न थालेछन्

खुट्टा नहुनेले पनि
टाउकोमा टेक्न थालेछन्

०० ०० ००

बरु उकालो भ्रम लाग्छ
ओरालो सधैं कम लाग्छ

पाखामा ठेस लागे नि
बादलमाथि कदम लाग्छ

झ्यालमा जुन उत्रँदा
अँध्यारो खुब नरम लाग्छ

पुरानी प्रेमिकाले पठाएको
फूल पनि बम लाग्छ

बोलाउन खुब मन लाग्छ
तर बोलाउन शरम लाग्छ

दुधौली-१, सिन्धुली