आखिर किन तर्किरहेछन् मसँग जितहरू
पढ्नु पर्यो फर्केर पुनः आफ्नै अतितहरू

यति विध्न शून्यता कहाँबाट आयो जिन्दगीमा
अब खोज्नुछ संघर्षमा सफलताका संगीतहरू

कहाँ सजिलो छ र ! उक्लन सगरको सतहमा
सफलताका अगाडि उभिन्छन् चुनौतीका कङ्क्रिटहरू

बाढीझैं उर्लेर कहाँ आउँछन् र खुसी जिन्दगीमा
खुसी यसरी आउँछ जसरी आउँछन् रातमा शीतहरू

इमानदारी र मिहिनेत यदि हुँदै गए धराशायी
यत्ति बुझ्नु निभ्दै जानेछन् सफलताका दीपहरू

सफर एक्लै पनि सफल हुँदोरहेछ जिन्दगीको
यदि जानियो भने लगाउन आफैँसँग प्रितहरू ।

काठमाडौं