सोह्र श्रृङ्गारविरुद्ध बोल्नेले गाजल लगाइछ
फूल बनेर भमरालाई जवानी सब चढाइछ

म तिमीजस्तो काँतर हुँदै होइन भन्नेले
किन होला आँखामा आँसु अविरल बगाइछ

सुन्यौ म कसैको सौभाग्य खोस्ने नारी होइन
त्यसो भन्नेले सुटुक्क जस्केलाबाट धाइछ

पढाइ लेखाइ रुपरङ घमण्डको भकारीले
कपेर वर-पिपल भरिभरी मेरै नाम लेखाइछ

सत्यम् शिवम् सुन्दरम् भजन वाहियात ठान्नेले
धूपम् दीपम् नैवेद्यम् थालीमा फूल सजाइछ

थाहा छैन के के भयो एकान्तको जोड घटाउ
परिणाम पाएर गदगद भित्र सृष्टि हुर्काइछ ।
~~~

गजुरी, धादिङ