(१)
रङले खेल्दा खेल्दै खेल, मान्छे जन्मिन्छ
खेलवाडमा नै अचेल, मान्छे जन्मिन्छ

इतिहास साक्षी छ, युग विकाश भएको
जवानीको नछुट्दै रेल, मान्छे जन्मिन्छ

यो देश कहिले पनि विकासमा लागेन
कारण, उमेर छउञ्जेल, मान्छे जन्मिन्छ

कसैले सिकोस् मान्छेसँग, संघर्ष गर्न
खान नभए नि नून तेल, मान्छे जन्मिन्छ

रङले खेल्दा खेल्दै खेल, मान्छे जन्मिन्छ
खेलवाडमा नै अचेल, मान्छे जन्मिन्छ ।

 

(२)
यहाँभन्दा उतातिर धेरै खुशी मिल्छ भने
जुरुक्क उठेर जाऊ सबेरै, खुशी मिल्छ भने

मुटु दिउँला, धड्कन दिउँला, ज्यान पनि दिउँला
माग्न सक्दो माग, मागेरै खुशी मिल्छ भने

देखे पनि नदेखेझैँ गरिदिउँला गल्तीहरू
ठग्न सक्दो ठग, ठगेरै खुशी मिल्छ भने

एकोहोरो माया गरेँ, त्यहीँ मेरो गल्ती भएछ
तड्पाऊ मलाई, तड्पाएरै खुशी मिल्छ भने

थाहा छैन, के हो तिम्रो गन्तव्य र उद्देश्य
खेल, मेरो भावनासँग खेलेरै खुशी मिल्छ भने ।

प्यिउल्वीँ, म्यान्मार