(१)
आमा बेस्सरी लाग्यो भोक नानीले भन्यो
वर्षौं भयो नतातेको चिसो खरानीले भन्यो

केही नयाँ गर जस्को नाम लिन सकियोस्
कति कोट्याउँछौ मलाई नै कहानीले भन्यो

उस्ले हात फैलाएको देखेर नै बारम्बार
छैन दिने मसँग कर्ण जस्तो दानीले भन्यो

यार कति प्यास मात्र मेटिरहन्छौ घाइते
आगो निभाउन पनि त राख पानीले भन्यो

आमा बेस्सरी लाग्यो भोक नानीले भन्यो
वर्षौं भयो नतातेको चिसो खरानीले भन्या

 

(२)
मर्छन् सम्बन्ध गरिबीले चुटेर
बाँच्नै पर्छ काँचजस्तै फुटेर

अलग्गिएर पनि भलो हुँदो रहेछ
म जिउने सकेको हो बन्धन टुटेर

जोडेको मैले यो स्यानो झुपडी
खेतका गरागरामा डल्ला कुटेर

घर न घाटको बनायौ घाइते
ब्याजको नाममा झुपडी लुटेर

मर्छन् सम्बन्ध गरिबीले चुटेर
बाँच्नै पर्छ काँचजस्तै फुटेर

 

(३)
किन्नुपर्छ, सित्तैमा कोही आफ्नो हुँदैन
फाइदा नभए कसैले कसैलाई छुँदैन

अंश भाडा गर्नु पर्छ भन्ने थाहा पाएर
बाँच्दा पो रून्छन् मर्दा कोही रूँदैन

कसैले जानी-जानी प्वाल पारेको हो
नत्र त्यो हिजोको छानो कसरी नि चुँदैन

पीडा लुकाउन मात्र पर्छ साथी लुकाउन पर्छ
यति बुझ्नु पर्छ तिमीले आँसुले आँखा धुँदैन

किन्नुपर्छ, सित्तैमा कोही आफ्नो हुँदैन
फाइदा नभए कसैले कसैलाई छुँदैन ।

च्यापिन, मोगोक, म्यानमा