दुःख आउँदा सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराई बार्दैन

घाम जुन समेतले नि भोग्नु पर्ने रहेछ ग्रहण
भोक प्यास मेट्न पेटले भाँडा कराई बार्दैन

नुहिएको हुन्छ हाँगाभरि फल लागेको वृक्ष
उम्रेर हुर्कने बीउले रोपाइँ अनि छराई बार्दैन

देउता पनि जोगी बनी आउँछ हात फिँजाई
मनले दिए दान हातमा, उसले सराई बार्दैन

दुःख आउँदा सुख आउँदा पहाड तराई बार्दैन
परी आए छिमेकले नि आफन्त पराई बार्दैन।

 

गजलः तिमी

औंसी मेरो अँध्यारो रातमा पूर्णिमा तिमी
प्रेम,विश्वासको कसम जुनीजुनीमा तिमी

शंका,अविश्वासका दिनहरू अस्ताइसके
पूर्वी क्षितिजको प्रेमिल अरुणिमा तिमी

उजाड थियो जिन्दगी प्रेम नफुल्दा यहाँ
रुगरुगे डाँडाभरि गुराँसे लालिमा तिमी

रुखो खेतको गराझैँ उजाड जिन्दगीमा
रङ्गीन फूलहरूको सुवासित महिमा तिमी

शून्यतामा दुखिरहन्थ्यो एक्लो यो जीवन
पारोहाङ्ग मलाई पूर्णता दिने सुम्निमा तिमी।

दीपेन्द्र आचार्य
इलाम