प्रिय छोरा
आज तिमी दुई वर्षको हुनै लाग्दा
जन्मदिन नजिक आउँदै गर्दा
तिमीलाई पर्याप्त समय दिन नसकेकोमा
तिमीसँगै तिम्रो साथी बनी खेल्न नपाएकोमा
क्षमा चाहन्छु, छोरा ।।१।।

मनको मझेरीबाट
स्मृतिका पानाहरूमा टहलिँदै गर्दा
यतिबेला सम्झिरहेछु म !
तिमी नजन्मदै कोभिड- १९ सँग जुध्दै
तिम्रो मम्मीले तिमीलाई पेटभित्रै सुरक्षित राखिन्
तिम्रो मम्मी धर्ति भएर तिम्रो स्याहार गर्दैगर्दा
तिम्रो बाबा आकाश मात्र हुन सक्यो
अर्थात् टाढा रहेर केवल सञ्चो सोधेरै बस्यो।।२।।

प्रिय छोरा
मेरो जिन्दगीमा तिमी आएकोमा म भगवानप्रति कृतज्ञ छु
तिमीलाई अहिले नै असल र सकारात्मक सोचका साथ
अगि बढ्नु पर्छ भनेर सिकाउनुभन्दा
तिम्रो चुलबुले बालापनमा म रमाउन चाहन्छु
तिम्रो निःस्वार्थपन म सिक्न चाहन्छु
राम्रो कर्ममा रमाउने सत्कृतजस्तै
तिम्रा जीवनका पाइलाहरू अघि बढ्दै गरून्
आमा, हजुरआमासँग हात समाउँदै
तिमी घर वरिपरि खेल्दै रमाउँदै गर्दा
मन हर्षविभोर हुन्छ
तिम्रा यी सबै दैनिक यात्रा नजिकैबाट हेर्न र महसुस गर्न
सधैँ तिमी सँगै हुन पाएँ
तिम्रो न्यानो अँगालो र मीठो मुस्कानमा रम्न पाएँ
अरु के नै चाहिन्थ्यो र ?।।३।।

प्रिय छोरा
तिमीसँग बेलाबेलामा बिताएका क्षणले
मलाई आफ्नो कर्म क्षेत्रमा उत्साह दिन्छ
तिमीलाई काँधमा बोकेको
अँगालोमा बेरिएको क्षणको स्मरणले
मेरा जीवनका हरेक पाइलाहरू
सङ्घर्षको उकालो चढ्दै गर्दाका
कठिनाईहरू सहज लाग्छन्।।४।।

प्रिय छोरा,
तिम्रो बाल्यकालमा मात्रै होइन
जीवनभर समयले साथ दिँदासम्म
म सधैँ तिम्रो नजिक हुने
कोसिस जारी राख्नेछु
सूर्यास्त पछिको सूर्योदय आउने नै छ
तिम्रो बाबा तिमी सँगसँगै हुने नै छ
छिट्टै आउँदै गरेको
जन्मदिनको शुभकामना छोरा ।।५।।