आज मनमाथि ढुङ्गा राखेर
म तिम्रै आमा पृथ्वी बोल्दैछु

तिमीले दिएका चोट खप्दै
तिमीले दिएका दुःख सहँदै
म तिम्रै आमा पृथ्वी बोल्दैछु
आज अन्यायमा परेपछि
म तिम्रै आमा पृथ्वी बोल्दैछु

मैले सन्तानको भलो चाहँदा चाहँदै
तिमीले आमाकै कुभलो चाहेपछि
मैले तिमीलाई राम्रो बनाउँदा बनाउँदै
तिमीले मलाई नै सडाएपछि

आज रुँदै रुँदै
म तिम्रै आमा पृथ्वी बोल्दैछु

मैले अमृत खुवाउँदा खुवाउँदै
तिमीले ममाथि विष बर्साएपछि
मैले शत्रुबाट छेक्दाछेक्दै
तिमीले मलाई नै तर्साएपछि

आज मनभरि पीडा बोकी
म तिम्रै आमा पृथ्वी बोल्दैछु ।