
यही समय हो
बिपीको समाजवाद
उत्कर्षमा पुगेको
महाकविका कविताले
विश्व बजार
हल्लाएका
मैनालीको एउटै
नासोले
सिङ्गो इतिहास बोकेको
पारिजातले
शिरीषको फूल
जन्माएकी
र काँडाबीचकी फूल
झमकले
जीवित दस्तावेज
पस्केकी
हो उही
ऊर्जाशील समयमा
उभिएका छौँ
विश्वविद्यालयका
हामी
डिग्रीधारी बेरोजगार
युवाहरू
लाखौँ युवाका
अनगिन्ती सपनाहरु
थन्किएका छन्
बन्द दराजका
ती भित्ताहरूमा
मनभरि
आक्रोश छ
विद्रोह छ
सुन ए सरकार
जवानीको
भत्भती पोल्ने
तातो रगत र
ऊर्जाशील समयमा
तिम्रा खोक्रा भाषण र
चर्का नाराले
आजित बन्दै
पलायन हुँदैछन्
गाँस, बासको लागि
विदेशी मरुभूमितिर
दूरदराजका
नेपाली आमाका
कलिला सन्तानहरू
निर्दोष युवाहरूको
सिङ्गो जवानी
बिक्नेछ
युरो, डलर र भारुमै
चिस्सिनेछ जब
चिया गिलासजस्तै
युवाको उम्लदो
रगत
रित्तिनेछन् विस्तारै
सपनाहरू
रक्सीका ती
बोतल झैँ
अनि
चाउरिएको निधार
झोल्लिएका गाला
बोकेर
स्वदेश फर्किदा
बिरानो हुनेछ
यो देश
हामीजस्ता
लाखौँ युवाका लागि ।
कैलाली
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

