२० वर्षको जवानीमा जीवनका रङहरू उजाडेर
गर्भमा हुर्किरहेको सन्तानको आगमनका
आशा र भरोशाका टुसाहरू उमार्दै जन्माएको छोरो
आफ्नो विवशता, गरिबी र बेरोजगारीसँगै हारेको दिन
मुटुलाई दह्रो पार्दै ममतामा तुसारो पारेर सकी नसकी बलैले भन्छिन्
बाबु अब यहाँ नबस्, तँ विदेश जा न है !

हेर् त, न मैले नै यतिका समय केही गर्न सकेँ
न त तैले नै केही गर्लास् भन्ने आश गर्न सक्छु
मेरा र तेरा खुसीका सपनामा दिनका दिन
यति ठूलो भ्वाङ परिसस्दा पनि नि बाबु
तँ यता भौतारिएको देख्दा, म सुस्केरामा जिएको देख्दा
बाबु अब यहा नबस् ल, तँ विदेश जा न है !

तँलाई हुर्काउन पढाउन र हरेक दसैँ मनाउन भनी
साहुसँग लिएको ऋणको ब्याज दोब्बर भइसक्यो
यो घर बन्दकी राखेर लिएको त्यो ऋण तिर्न नसकेका दिन
यो घरको बन्दकीको कागज साहुको घरमा खोलेको दिन
तेरो, मेरो इमान र ती स्वर्गमा गएका बाबुको इज्जतको
धज्जी उड्नुभन्दा पहिले नै ए मेरो प्यारो बाबु
अब तँ यहाँ नबस् ल, बिन्ती तँ विदेश जा न है !

तँलाई थाहा छ, तँ विदेश गएका दिन
मेरो काख त अवश्य रित्तो भएको हुनेछ
तर मेरो छाती गर्वले ढक्क फुल्नेछ र भन्ने छु
साहुलाई निर्धक्क भएर कि
थाहा छ, मेरो छोरो कमाउन विदेश गएको छ
अब ल्याउने छ बाकस भरी नोट
तिर्ने छौँ तिम्रो ऋण
फुकाउने छौँ हाम्रो बन्धकीको घर
हो छोरा, त्यो साहुलाई यही जवाफ दिनै भए पनि
अब तँ यहाँ नबस् ल
बिन्ती छ विदेश जा न है !

मलाई थाहा छ, तँ विदेश उडेका दिनदेखि
यी मेरा आँखाहरू ओभानो हुने छैनन्
र उड्नेछन् मेरा बुढेसकालका सहारा
भरोसा पनि त्यही जहाजसँगै
तर
छोरा मनमा पलाइरहने छन्
स्वाभिमानी बन्ने आशा र भरोसाहरू
बुनिरहने छु रहर ती बुढेसकालका सुख र खुसीका
हो छोरा त्यही भएर बिन्ती छ बाबु, तँ विदेश जा न है !!

कक्षाः ८
सिफल माध्यमिक विध्यालय