
यहीँ कतै अलप भएछ त्यो बचपन
यतै कतै विलीन भएछ त्यो जवानी
आफैभित्र विलय भएछ पहाड बोक्ने जोस
अनि अस्ताएछन् सारा सपनाहरू
यात्रा यति तीव्र चल्ला कहिल्यै ठानिएन
यति छिटै यहाँ पुगिएला कहिल्यै मानिएन
कहिलेकाहीँ अस्तित्वलाई सोध्छु
मेरो जीवनको प्रयोजन के हो ?
मौन उत्तर आउँछ
नभमा हेर नक्षत्रमा हेर
वनमा हेर पखेरामा हेर
काली गण्डकी र धौलागिरीमा हेर
बचेरा हुर्काउँदी जुरेली चरीलाई हेर
तिमी जीवनको प्रयोजन भेट्टाउने छौ
हो कि जस्तो लाग्छ
चित्त बुझाउँछु
हेर्दाहेर्दै यो जिन्दगी
गन्तीभन्दा बाहिर पर्न थालेछ
पत्तै भएन
सल्लाह माग्नेहरू आउन छाडे
केही बोल्न खोज्छु आफ्नै वाणी लर्बराउँछ
कतै जान खोज्छु आफ्नै छायाँले तर्साउँछ
खुट्टा दुख्छ छाती दुख्छ
तन दुख्छ मन दुख्छ
आँखा माथिको छाला झुन्डियो
अस्तित्वलाई फेरि सोध्छु
यो यात्रा कहिले सकिन्छ ?
उत्तर आउँछ
त्यो भन्न मिल्दैन
उनीहरूलाई म बिर्सेर बिर्संदै छु
उनीहरू मलाई सम्झेर बिर्संदै छन्
मन पर्ने कुरा मन पर्न छाडे
झर्को लाग्छ झिँजो लाग्छ
एकान्त मन पर्न थाल्यो
ओछ्यानमा निद लाग्दैन
जहाँ बस्यो त्यहीँ फुसुक्क भयो
मर्माहत यात्राको आहत आनन्द
मेरा किताब हेर्छु
सायद तीमध्ये धेरै मबाट पढिने छैनन्
छाम्छु मुसार्छु ढोग्छु र कुरा गर्छु
मेरा किताबहरू मौन छन्
किन्तु
एक मिनेटमा हजार शब्द बोल्छन्
मेरा पुराना डायरीहरू हेर्छु
कोही चालीस वर्ष पुगेका,कोही तीस
वयोवृद्ध डायरीहरू
बिच्चको पाना पल्टाउँछु
महात्मा गान्धीको फोटो आउँछ
रहर पनि कस्तो
पत्रिकाको फोटो गुँदले टाँसेको
अर्को डायरी झिक्छु
फर्लक्क पल्टाउँछु एक र्यान्डम पाना
लेखेको रहेछु
आज बाको चिट्ठी आयो
तेरी आमालाई सन्चो छैन
लैनो भैंसी मर्यो
गाउँमा ठूलो पहिरो गयो
शोकाकुल छ जीवन
मुस्किल छ गाउँमा
फेर अर्को झिक्छु पाना पल्टाउँछु
लेखेको रहेछु
आज फेरि बाको चिट्ठी आयो
यसपालिको दसैं रमाइलो भयो
एउटै कुराको दु:ख भयो
तेरो अभाव खट्क्यो छोरा
घरमा लैना बकेर्ना भैंसी छन्
गोरस पौल छ
घिरौंला काँक्रा फर्सी करेला धेरै फले
मकै पनि प्रशस्त भयो
धान पहेँलपुर पाक्दै छ खेतमा
एउटै कुराको रहर बाँकी छ छोरा
मङ्सिरमा तेरो विवाह गर्ने है !
मेरा लुगा हेर्छु
मायाले पट्याएर राख्छु
लुगा लगाउनुपर्ने अवसर घट्दै गयो
भावुक हुन्छु मुसार्छु छुन्छु
थपक्क मिलाएर थन्क्याउँछु
कोही सिलाएर लाउन नभ्याएका
कोही पछि चाहिन्छ भनेर नसिलाई राखिएका
थाहा छ तीमध्ये धेरैजसो सिलाउन भ्याउने छैन
सिलाउन भ्याए पनि लगाउन भ्याउने छैन
तैपनि मनै त हो
रहर लाग्छ
पुराना कविताहरू बोल्छु
पुराना गीतहरू गुनगुनाउँछु
पुराना मित्रहरू सम्झन्छु
कोही अनन्तमा लीन भइसकेका
कोही अनन्त यात्राको तयारी गरिरहेका
कोही किञ्चित टाठा फरासिला
जो
मैले झैँ
फाटेको मन सिउने यत्न गरिरहेका
जीवन जिउने प्रयत्न गरिरहेका
हो दोस्त प्रयत्न गर्नुपर्छ
बुढेसकालको पनि मजा लिनुपर्छ प्यारे !
रित्ता हात आयौं रित्तै हात जानुछ ।
पाल्पा, हालः भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

