च्यात्तिएका सडकका छातीहरूमा
कैयन गरिवी सपनाहरू कुल्चिएर
चिल्ला गाडीहरूमा
गुडिरहेछन् सुकिला मुकिला जमातहरू
खाल्डाखुल्डी छेउकुना नमिलेका
फुङ्ग रङ उडेर
लमतन्न पस्रिएको सडकको कथामा
आफ्नो पहिचान हराएका निर्धाहरू
के सडक किनारमा
उभिने पनि अधिकार छैन?
हुनेखानेको मात्रै पनि हो त होइन सडक
शक्तिशालीको मात्रै पनि होइन सडक
तर किन एक गरिबको पनि
सक्दैन बन्न सपना सडक
शक्तिको आडमै जेलिएर
सडकमै पनि त विभेद जन्मिदोरहेछ
ठाउँठाउँमा उप्किएका खाटाहरूजस्तो
उप्किएका कुरुप सडक
अनि त्यही सडकको ऐनामा देखिने
कैयन मान्छेका कुरुप अनुहार
छताछुल्ल देखिन्छन्
समयले पनि कस्तो छिर्के हान्दोरहेछ
गरिवी कथाहरू
सडक किनारमा बिलाइरहन्छन्
अमूक नियमका फेरबदलको चपेटामा
चेप्टिदोरहेछ
सडक सम्भ्रान्तहरूको मात्रै होइन
सडक निमुखाहरूको पनि त हो
सडकको राजनीतिमा
किन कोरिएको छ विभेदको सीमारेखा?
सडक हिंडने बाटो न हो
हिंडनेहरूलाई निर्वाध हिंड्न दिनुपर्छ
सडकहरूमा सबैले सपना देख्न पाउनुपर्छ
सडकहरूमा आफ्नो कथा लेख्न पाउनुपर्छ
सडकहरूमा सबले जीवनगीत गाउन पाउनुपर्छ
अन्यथा त्यही सडकमा
कुनै दिन विशाल क्रान्ति उठ्नेछ
र फेरिन सक्छ सडक इतिहास
रङ्गिन सक्छ आक्रोशको रङले
तसर्थ
सडक सडकजस्तो होस्
जहाँ हर मान्छेको जीवन प्रतिविम्वित होस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।