छन्दकविताः सम्पत्ति हुन् बालक
छन्द-शार्दूलविक्रीडित
हामी बालक हौँ भविष्य युगका सद्भाव छर्छौँ यहाँ
कोर्नेछौँ इतिहास यो मुलुकको माटो सिगार्छौँ यहाँ।
बाल्छौँ दीपक ज्ञानको निशि हटी आओस् बिहानी भनी
फेर्छौँ बालकले मुहार युगको नेतृत्वकर्ता बनी।।१।।

छौँ यो देश सिगार्न सक्षम सबै बाधिन्छ हाम्रो कर
बोल्छौँ शोषणको विरुद्ध मुख यी टालिन्छ हाम्रो तर।
के हाम्रो अब बित्छ यै सडकको एकान्तमा जीवन?
मैले राष्ट्र निमित्त जीवन सबै पाउन्न के सुम्पन?।।२।।

हाम्रा निम्ति भनेर छैन सुबिधा, छैनन् र विद्यालय?
जाँदा न्याय गुहार्न बालकहरू छन् मौन न्यायालय।
नाङ्गो आङ छ रिक्त यी उदर छन् आमा गुमाए पछि
हाम्रो जीवन अश्रुपूर्ण छ सधैँ हाँसो हराए पछि।।३।।

छातीभित्र छ दु:खका स्वरहरू केही नबोलूँ भने
वाणी छन् परतन्त्रमा यदि कतै केही म बोलूँ भने।
झार्दै आँशु बलिन्द्र शोषित अरू होलान् म जस्तै कति?
ध्यानाकर्षित होस् निकायहरुको होस् बालको उन्नति।।४।।

हाम्रा ती अधिकार निश्चित गरी देऊ सबैमा हक
हामी बालक कर्णधार युगका हौँ राष्ट्र संबाहक।
फैलाऔँ जनचेतना हृदयमा बाली नयाँ दीपक
नेपाली जनता बुझे मुलुकका सम्पत्ति हुन् बालक।।५।।

 

देवघाट ५, तनहुँ