श्रीमान् ज्यू
यो तपाईंको अङ्गालो
मलाई कैदखाना जस्तो लाग्यो
अनि म चाहिँ
हजुरको आजीवन कैदी

– म तपाईंकी अर्धाङ्गिनी हुँ
– म तपाईंकी जीवनसाथी हुँ
यो स्वीकार गर्न मलाई
दिमाग खर्चिरहनु पर्दैन

तर मेरो जिन्दगी
हजुरको आँगन काटेर कहिल्यै
पर पुगेन
हजुरको अँगेनो बाल्दाबाल्दै,
हजुरको मझेरी पोत्दापोत्दै
मेरो जिन्दगीबाट समयका चोइटा
उक्किदै गएको पत्तै पाइनँ
खैर, मसँग पनि नभएको हैन
– उमेरले जुराइदिएको रङ्गीन पखेटा
तर ती पखेटा
हिउँदमा रुखका हाँगा खसेजस्तै
ख्यालख्यालैमा कहाँ खस्यो खस्यो !

म तपाईंभित्र खोजी रहन्छु
– मेरी सङ्गिनी
– मेरो भाइ
– मेरो बुबा
म ती चरित्रहरू मृतप्राय पाउँछु
मेरो मायाको रापले
हजुरको मुटु सेकिरहँदा पनि
हरेक बिहान
हजुरको छाती चिसो पाउँछु

मैले घुमाएको जाँतोजस्तै
मेरो जीवन एउटै चक्रमा घुमिरहेको पाउँछु
एकदम निरस अनि निराश

श्रीमान् ज्यू
तपाईंको घरको प्रत्येक चोटा
सुँग्दा मेरो चोटको
गन्ध आएन र ?
प्रत्येक सहबासको चुम्बनमा
मेरा अंगहरू अचेतन लागेनन्?
तपाईँले लाउनु भएको स्वेटरमा
मेरा औंलाका गाढा शंखचक्र
नियाल्नु भएन र?
मेरा लागि जूनतारा बुनेको घुम्टो ल्याइदिने
सपना बोकेको मन
किन यतिविघ्न रिक्त छ भनेर आफैँलाई सोध्नु भएन र?

हुन त श्रीमान् ज्यू
तपाईं समेतका हजारौं श्रीमानलाई
लाग्दो हो –
कुहिरोले छोपिरहेको आधा आकाशमा
वीर्यस्खलन गरेर
हाम्रो अस्तित्वको महत्तालाई
सस्तो बनाउन सकिन्छ
आदेश, अनुशासन, नीति, धर्म
लगायतका पाखण्डहरूका पहाड उभ्याएर
हाम्रा आँखाहरूबाट यो संसार छोप्न सकिन्छ

आजकल किन हो कुन्नी
मलाई लाग्छ –
सिउँदोमा रातै फूलेका सिन्दुरहरू
अभागी स्त्रीहरूलाई
हिँड्न छेकेको लक्षमणरेखा हो
हातमा हजुरले लगाइदिनु भएका
एक दर्जन चुरा
मेरो गृहोपस्थिति सूचक हो
हामीले सँगै पुज्ने गरेको देवीथान
मलाई नीच सृष्टि ठान्ने पक्षपाती हो

म आज खोजिरहेकी छु –

मरुभूमि घोप्टिएको
हाम्रो जिन्दगीमा आँसुका लस्करका इतिहास
अनि
मेरो छुट्टै निर्वन्ध आकाश
जहाँ म छोड्ने छु उन्मुक्तिको चिसा उच्छवास

त्यसैले श्रीमान् ज्यू!
आजको दिन
हजुरको मुटु कुल्चिएर
यो आँगन पर्तिर पाइला राखेँ भने
ननिको नमान्नु है
मलाई निभाउनु छ
छोरी मार्न सल्किएको डढेकोलाई
मलाई खोस्नु छ
अरूको हत्केलामा च्यापिएको मेरो हंश
कुनै दिन
म मेरो अस्तित्वको क्षेत्रफल
अलिक बढाएर आउने छु तपाईंको हात समाउन।