एकदिन
मानिस मेरो नजिक आउनेछ
र मलाई अङ्गालो हाल्नेछ
चुम्नेछ मलाई
मेरो परिक्रमा गर्नेछ

म मुसुमुसु हास्नेछु

म रुख हुँ
म जहाँ छु,त्यही छेउमा छ बग्दैगरेको नदी
अग्लिएको पहाड़, भुईंको प्राचीन इतिहासरेखाहरू

जीवनका आदिम स्रोतहरू

एकदिन
मानिसले त्यही कुरा खोज्दै आउने छन्
मकहाँ

ध्यान गर्नेछ
मानिसले त्यस्बेला मेरो काखमा बसेर

म रुख हुँ रुख, जीवनको रुख !
म हेरिरहेछु जङ्गलबाट निक्लेर मानिस आखिर अति टाढासम्म पुगेछ त!
के मानिस यति धेरै टाडा पुगेछ त!
जहाँदेखि संसार रुखविहीन छ

अर्थात जीवनविहीन!

७.

जब एउटी
चरी उदास हुन्छे
पृथ्वीको निधार ख़ुम्चिन्छ

एउटा रुख जब मर्छ
सब भन्दा बढी चिन्तित बन्छ
पृथ्वी

जब एउटी स्त्री विलाप गर्छे
त्यो रात अनिदो हुन्छ पृथ्वी !!

.८

फूल देखें अनि त्यही फूलहरू फुलेको
पाएँ मभित्र

रुखलाई अङ्गालो हाले अनि त्यही रुखको हरियो
उत्सेको पाएँ मभित्र

खोला उत्रे अनि त्यही खोलाका धार बग्दै गरेको पाएँ
मभित्र

चरीहरूको गीत सुनें अनि त्यही गीत
बजिरहेको पाएँ मभित्र

केहीबेरलाई थोरै जिएँ मैले
त्यस्ले कसरी यतिबिघ्न भरिदियो मलाई !!

९.

यो पृथ्वीको अन्तिम रुख हो
यस्को पछि कुनै रुख छैन
माटोमुनि जरा छैन
हाँगा छैन, हाँगामा पात छैन
न त फल छ !

यस्को पछि बिउ पनि छैन !

यो पृथ्वीको अन्तिम रुख हो !

किनकि यस्पछि सम्भावनाहरू पनि छैनन् !

यो रुख मानिसभन्दा पहिले पृथ्वीमा आयो
मानिस रहुन्जेल बाँच्यो
यो पृथ्वीको अन्तिम रुख हो !

मानिसले कहिले सोच्दैन कि एकदिन
ऊ पनि अन्तिम मानिस हुनेछ
यो रुख अन्तिम हो भनेर जान्दाजान्दै पनि !

हेर ! यो पृथ्वीको अन्तिम रुख हो !!

सिलगडी, भारत