
सोच्दा सोच्दै
धरै भयो,
त्यो बार्दलीबारे
बार्दली त मेरो पनि छ
तर फरक यत्ति मात्र
त्यो बार्दलीमा तागत् छ
मेरो बार्दलीमा फगत् शोभा छ
आक्रोश पनि त्यहीँ छ
अभिवादन पनि त्यहीँ छ
र छ जन-मानसको लहर
मेरो मा त अनुपम सौन्दर्य छ
समीकरण पनि त्यहीँ बन्छ
एकीकरण पनि त्यहीँ हुन्छ
र हुन्छ समझदारी पनि त्यहीँ
बालुवाटारको होस्
चाहे शितल निवासको
भागबण्डा समेत त्यहीँ हुन्छ
कहिले न्युनतम साझा कार्यक्रम
कहिले तँ भन्दा म के कम ?
कहिले ढाल्छु
कहिले सम्हाल्छु
र कहिले आलोपालो
कहिले टुट्यो, कहिले फुट्यो त कहिले जुट्यो
तर मलाई मेरै आनन्द लाग्छ
जब बिहानीको सुनौलो प्रभाती किरण
मेरै बार्दलीमा आएर स्पर्श गर्छ
यस्तो लाग्छ के छैन र यहाँ ?
तर म फेरि झस्किन्छु
कहिले पाँच भाइ
कहिले सात भाइको समझदारी
त कहिले कथित बाह्र भाइको आवाज नेपथ्यमा सुनिन्छ
तर म ढुक्क छु
र शान्त छु
किनकि मलाई थाहा छ
त्यहाँ बार्दली छ
साम्य हुने विश्वास छ
मैले किन चिन्तित हुने ?
मेरो त आफ्नै बार्दली पो छ त
प्रकृतिले सारा सौन्दर्य खन्याएको छ
भविष्य छ
सम्भावना छ
र छ मुकाम पुग्ने निश्चित योजना
ताकि टुट्नु, जुट्नु र फेरी फुट्नु नपरोस्
र चुचुरोमै पुगेरै लामो छ्लाङ् होस्
तर एउटा कुराले फेरि पिरोल्छ
जुन सुनिदै र घोकिँदै आएको छ
व्यवस्था फेरियो
तर अवस्था फेरिएन
फेरियो त फगत् त्यो बार्दली
र त्यो बार्दलीमा हल्लिने ती हातहरू
तर केही छैन
म त आफ्नै बार्दलीको भरमा छु
शरणमा छु
मलाई विश्वास छ मेरो बार्दलीले
चुचुरोमै छ्लाङ् लगाउनेछ मलाई
तथापि म फेरि निष्कलङ्क भन्न सक्छु
त्यो बार्दली भन्दा
मेरो बार्दलीले शानदार जीवनको परिकल्पना गर्नेछ
शुक्लाफाँटा न.पा.५,
कन्चनपुर, सुदुरपश्चिम प्रदेश, नेपाल
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

