एक्लो हुन्छ मान्छेभित्र, नयन भिज्छ रसाएर
आफ्नैबाट टाढा बनी, बस्छ बस्ती बसाएर
किन हाँस्छ मान्छे सधैँ, भेद नबुझ्ने को छ र ?
जान्दाजान्दै नबुझेरै, जान्छ आफ्ना रूवाएर

भेल बग्ने नदी तर्न, पुल बनाउछ
कमजोर पार्छ लढ्ठा तिनै, आफैँ खियाएर
शीर ठाडो पार्न खोज्छ, केही पाउन झुकिहाल्छ
नपाउँदासम्म मात्र, पाए हिँड्छ गर्दन फुलाएर

लिनुपर्ने लिई हाल्छ, केही गरी बिर्सन्न ऊ
दिनुपर्ने बेला उसले, दनक दिन्छ झुलाएर
फिस्स हाँस्छ मान्छे देख्दा, थाप्दै सम्बन्धको जाल
ढोक्सा भित्र परेपछि, छोड्छ जहर पिलाएर

भोग विलास दिनचर्या, गर्ने गर्छ राशलीला
एक्लो हुन्छ मान्छे तर बस्छ बस्ती बसाएर
एक्लो हुन्छ मान्छेभित्र, नयन भिज्छ रसाएर
आफ्नैबाट टाढा बनी, बस्छ बस्ती बसाएर ।

 

अस्ट्रेलिया