
सभ्यता र संस्कृतिको उद्गम विन्दु
हार्दिकता र शिष्टताको मूल थलो
ताते पाइला चाल्न र तोते बोली बोल्न
सिकाउने मेरो प्यारो गाउँ
खहरेको सुसाई, छहराको छङछङ
खोला खोल्सी कुलेसोको कलकल
दौतरीको जमघट, चौतारीको खलबल
यही हो “मेरो प्यारो गाउँ”
चुलबुलिएको मनसँगै हुइँकिदै
पहाडी थुम्कोभित्र लुकामारी खेल्दै
बादलसँग लखेटिँदै भाग्दै पर्खिदै
भीरपाखा पहरा उकालीको बाटो
खोलाखोल्सी घुम्ती ओेराली झर्दै
“जाउँ है कान्छी मिनी बसैमा सरर”
गीतसँगै
प्यारो गाउँमा पुगे
मेरो प्यारो गाउँ
सन्तानको आशामा बाआमा टोलाएका
वेदना छटपटी र चिन्ताले लोलाएका
बेसहारा एक्लोपनले डराएका
मान्छे बस्ने घरमा ताल्चा लागेछ
आँगनी जुठेल्नुमा काँस मौलाएछ
बरबराउँदै भन्छन् बा ‑
देउराली र देवीस्थानमा देवता रिसाए
सिमेभुमे नाग नगेनी कुल देव रिसाए
के थाह बरा कठै
पोहर सालको भूकम्पले हल्लाएको
विकासको नाममा डोजरले थर्काएको
भासी जमिन धाँजा फाटी चर्काएको
धारा कुवा सिमसार भित्रभित्रै दबेका
चौतारीको वर‑पीपल जरासँगै उल्टेका
ओत लाग्ने पाटी पौवाबिना रेखदेख भत्केका
भीर पहरा वनजंगल अन्धाधुन्ध सम्याएका
खेती जमिन बगर बन्दै पानी मुहान सुके
बचेको पाखो रेखो खेती नभै बाँझिए
कुट्टो कोदालोमा दुःख लुकाउनेहरू
अनि परिश्रममा पसिना सुकाउनेहरू
गाउँबाट अन्त कतै ओझेल परेछन्
गाईभैंसी चौरी भेडा बाख्रा च्याङ्ग्रा मासिए
परम्परामा मौलिकता थाम्नेहरू कता भासिए
यस्तै छ
गफमा महासागरको कुरा गर्ने
करेसोको खोला खोल्सी हामी नदेख्ने
विश्वको टावरको फन्का मारी गुन गाउने
आफ्नै शिरको टोपी सागरमाथा बिर्सिदिने
सडक अनि सामाजिक सन्जाल नजिक हुने
छिमेकी भाइभतिजा बिरानो बन्दै टाढा हुने
त्यसैले त देख्ने सपनामा ठेस लाग्यो
हृदय पग्ली मनको आशा भाग्यो
आँखामा बाँधको सीमा नाघ्यो
सम्झिँदा छाती चिरिएजस्तो भयो
हृदय वेदनाले पिरिएजस्तो भयो
तर पनि चाहन्छु म
आफ्नै खोला खोल्सीको चिसो पानीमा
आफ्नै प्रतिविम्व झल्किदै प्यास मेटियोस्
यसपालि म गाउँ पुगे
मेरो प्यारो गाउँ ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

