
विशाल सहरहरुमा
स-साना गोरेटाहरू छन्
जसलाई मान्छेहरू
गल्ली भन्न रुचाउँछन्
गल्लीहरू सधैं
विशाल सडकहरूसँग विद्रोह गरिरहन्छ्न्
र शरण दिरहन्छ्न्
सडकले स्वीकार्न नसकेका पैतालाहरूलाई
गल्लीले कहिल्यै सुस्तता देखेको छैन
बरु देखेको छ
पुलिस भ्यानको साइरनसँगै हुत्तिएका खुट्टाहरू
जागिरको आशमा दौडिएका भाडाका टाईसुटहरू
टुकीले टालेको बाटा चप्पल र
टलक्क टल्किनै बिर्सिएका बुटहरू
दुनियाँको जुत्ता सिलाउँदा सिलाउँदै
आफ्नै भाग्य सिउन बिर्सिएका हातहरू
प्रेमिल जोडीहरूले
पहिलो भेटमा साटेको उपहार र
अन्तिम भेटमा
एकअर्काको अस्तित्वमा गरेका प्रहारहरू
सुनेको छ
पादरी, मौलाना र पण्डितले
चियाको चुस्किसँगै गरेका
धार्मिक वितृष्णाका बातहरू
सुम्सुमाएको छ
सडकहरुको लडाईंमा आफैँ छेउ
आइपुगेका घाउ अनि
रगतका छिटाहरू
गल्ली अपुरो छ
अधुरो छ
गल्ली पुग्ने सबैसँग पीर छ
झोलामा छाप लाग्न बाँकी राहदानी छ
किनकि गल्ली हिँड्नेहरू
अब सडक हिँड्न चाहन्छ्न्
व्यस्तताको स्याँ स्याँ गरिरहेकाहरू
शान्तिको लामो सास फेर्न चाहन्छ्न्
सडकहरुले अझै देखेका छैनन् केही
गल्ली पुग्नेहरूले
ल्याम्प पोस्टको त्यो फ्युज उडेको बत्तीमा
अचेल देशको भविष्य देख्न थालेका छन् ।
नेपालगंज मेडिकल कलेज
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

