कहाँ बन्छ नौनी नमथ्दै मदानी
कहाँ बन्छ चेष्टा नरच्दै कहानी
नबाँधूँ म औँला चलाऊँ सधैँ नै
बहाऊँ पसानी फलाऊँ सधैँ नै ।।
कहाँ फुल्छ टाँकी हिमाली धरामा
कहाँ फल्छ बाली नरोपी गरामा
सुहायो कहाँ के म रोपूँ विचारी
हटाऊँ म लोसे कुबानी लघारी ।।
कहाँ हुन्छ पीडा नघोची छुराले
कहाँ बन्छ देसै बनौटे कुराले
नपिर्नू नचिर्नू लगाऊँ दबाई
सिँगारूँ यो देश कहौँला सवाई ।।
कहाँ जाग्छ मेची नपाई इशारा
कहाँ हिँड्छ काली नपाई सहारा
जगाऊँ हिँडाऊँ पहाडी हिमाली
बढाऊँ ल फड्को अगाडी समाली ।।
कहाँ हट्छ मैलो नधोई कुवामा
कहाँ बढ्छ मीठो नघोटी खुवामा
पखालूँ ल घोटूँ सफा स्वादे पार्न
नखोजूँ नसोचूँ निराशाले हार्न ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला