छन्द- शार्दूलविक्रीडितम्

अन्धो न्याय अचेत कानुन भयो खै स्वार्थ छाएछ कि
भ्रष्टाचार बढ्यो सुशासन कतै बाटो बिराएछ कि।
बढ्छन् पेट बजेटले, गरिबको रित्तो छ गोजी तर
आयो रे गणतन्त्र खै मुलुकमा छैनम् चिनेका तर।।१।।

बाढीले जनता यता न त उता लाचार थे आखिर
पाएनन् सहयोग राहत पुग्यो अर्कै भकारीतिर।
दु:खी छन् जनता बढेर महँगी आकाश छोयो भनी
खाडीपट्टि पुगे जवान चुहिने टालौँ कि छानो भनी ।।२।।

पैसा टन्न थुपार्नु पर्छ नभए चल्दैन विद्यालय
जाँदा न्याय गुहार्न पीडितहरू बोल्दैन न्यायालय।
के लेख्ने सरकारको विषयमा चल्दैन यो लेखनी
कुर्सीको प्रति युद्धले मुलुक यो बन्दैन कैले पनि।।३।।

फैलाऔं जनचेतना हृदयमा बालौं नयाँ दीपक
कोहीमा पनि भेदभाव नरहोस् पाऊन् सबैले हक
राम्रोले पनि स्थान पाउनुपर्यो हाम्रो नहेरुन् कतै
लागौँ देश सिँगार्न एकजुट भै आओ युवा हो सबै।।४।।

जागौँ ए जनता उठौँ अब बुझौँ हामी सबैले यति
भ्रष्टाचार गरेर हुन्न कहिल्यै यो देशको उन्नति।
हामी सन्तति के सबै कुसुम झैँ नेपालकै हैन र?
आफू मात्र बन्यो भने यदि सबै के देश बन्दैन र?५।।

देवघाट ५, तनहुँ