यतिबेला बुढ्यौली बोकेर मुहारमा
चाउरिएको छ जीवन
र दिन छोडेर एउटा घाम
बिस्तारै अस्ताउने आश पर्खेर समय
चुपचाप चुपचाप
भित्रभित्रै मुर्मुरिएको छ
फर्केर पछाडि हेर्दै
धेरै अधुरा अपुरा
असन्तुष्टि जाग्छन्
र त्यो कठोर यामसँग
बन्दकी राखेको जिन्दगी
नबोलेरै फिर्ता माग्छिन्
यो हो आमाको कथा

मुखियाले युग दिएको त्यसबेला
ज्योतिषीले दुःख फेर्न के सक्थे
ससुराको हुंकार
सासूले संस्कार सिकाएको त्यो सभ्यता
आमाको हृदयमा अझै जमेको छ
घाँस, दाउरा, मेलापात, घरधन्दा
परिवारलाई नै संसार सम्झेर
खरानीमा मस्को चोप्दै
टल्किएको परिवर्तनको अठोट
मन घोट्दा घोट्दै वर्तन चक्किए
मुटुमा गडेको त्यो हरियाली
टारी खेतका फाँटहरू खन्दाखन्दै
हत्केलामा उठ्दै नीला भए
तर निधार कहिल्यै मुस्कुराएन

चर्चरी चिरिएका कुर्कुच्चा
तुसारोसँग रमाउँथ्यो हिउँद
र मुटु झिकेर डोकोमा
एक कोश परको पधेँरी सुसाउँथ्यो
उज्यालो नहुँदै
आँटामा जोर गाग्री मुस्कुराउँथे
बल्ल परेवाहरू घुर्घुराउँथे
यो आमाको समय
र यो हो आमाको कथा

कटकटी बिमारले खाएको ज्यान
कोदालो हँसिया
तल्लो गाउँको खोरिया
छाँदेको घाँसको भारी
र जुँगा मुसार्दै अघि लागेको लोग्ने
एकफेरो पटुकी कसेर सोझिएको शरीर
झरेको आङ
दिनभरिको थकान
कोचेर सिरानीमुनि
मध्यरातसम्म छटपटाइरहन्छन्
शोषणका विछ्यौना

बर्सेनिका सन्तान
खोकिलामा च्याप्दै
गहिरिएको सुस्केरा
आमाको हृदयमा
चसक्क
संघारमै उभिएर अनगिन्ति समय दुखेको छ
र विचरा ! आमाको इतिहास
हाँस्दैन यतिबेला
त्यो पनि त हिजो
उही निष्ठुरी बाउको पछि लागेकोथ्यो
र आज उनका सामु नतमस्तक छ
अनि भोलि आफैँ गर्विलो भइदिनेछ

त्यतिबेला
अधर्मी कोरी दिनहरू
नुनिलो आँसु पिएर रमाउनु भन्थ्यो
निष्ठुरी भाग्य
रगत लत्पतिएका फरियाहरू सम्हालेर
मुस्कुराउनु भन्थ्यो
र उनका लागि मुर्दा अक्षरहरू
लम्पसार आँगनीमा चुइँक्क पनि बोलेनन् हिजो
तर आज तिनै
आफैँमा शब्द बुन्छन्
र फर्किन्छन् बिना अर्थ
बिना संवेदना आफैँ
तर खोज्दैनन्
उनका जीउमा भरिएका खतहरू
अझै खोल्दैनन्
मुटुमा बल्झेका खिलहरू

रुँदा रुँदै रातभरि
कति मन बगेको छ मझेरीमा
तै निद्रासँग सन्तानको
सपना साट्दै पिठ्युमा
कति बेचियो अभाव
कति साटियो खुशी
कति लुटियो मुस्कान
खुसी साँच्दै सन्तानको
लगाउन खोजेको मायाको बारले
छेकिएन उसको गन्तव्य
रोकिएन उसको रफ्तार
र सपना पछ्याउँदै उसका पाइलाहरू
भविष्य बोकेर झोलामा
युरोप, अमेरिका, अष्ट्रेलिया
अनि दुबई, कतार र मलेसियातिर
बरालिएको खुसी
एकान्तमा एक्लै पर्खिरहन्छिन्

जसको लागि बाँचेकी थिन्
उसले पनि छोडेर गएपछि
हिजोको त्यो रङ्गीन दुःखी संसार
आज रङ्गहीन
खुसी त गएकैथ्यो
दुःख पनि अनेकौं पीडा दिएर
रुप फेरी फेरि आउँछ
बिस्तारामा उनी एक्ली छिन्
साथमा बोल्ने सिरक, डस्ना र सिरानीहरूले पनि
सुन्नै छाडेका छन् उनका वेदना
फूल जसरी हुर्काएका सन्तान
काँडा जसरी किन तर्किन्छन् होला ?
उनले नबुझेको यत्ति हो
हो, उनले आफैँलाई बुझाएर पनि नबुझेको यत्ति हो

बिस्तारै बिस्तारै धमिलिँदैछन् अतितहरू
पहिले पहिले साथ दिनेहरू
छुट्दै छुट्दै गएपछि
स्मृतिमा आउनेहरू
ओझेलमै अडिएपछि
थिलथिलो, अनकन्टार बन्दो रैछ शरीर
आफैँलाई आफ्नै छाया देख्न मुस्किल
….. र यो एउटा जीर्ण इतिहास
जहाँ वीरता, साहस र कलाको
उत्कृष्ट नमुना नभएपछि
नलेखिकनै विस्मृतिमा हराउनेछ एकदिन
यो हो आमाको कथा ।