उनको केशराशी सितल छायाँ बनून्
दिल विश्वासको सागर होस्
नयन उनका निश्चल पोखरी हुन्
जहाँ म निरन्तर जलक्रीडा गरिरहूँ

हृदयको विशाल फाँटमा
उनी प्रेमको बिस्कुन फिजाउन
म पक्षी बनी लुकीलुकी विचरण गरूँ

थाहा छ उनमा पीरको भकारी छ
तर उनी मलाई त्यो देखाउँदिनन्
बोल्दा लाग्छ उनीभित्र सकारात्माको मूल छ
त्यसैले त म उनलाई साथी बनाएको छु
हृदयमा सजाएको छु सधैँसधैँका लागि

जूनसँग उनको कुरा गरेको छु
बताससँग उनीसँग जोडिने सम्झौता छ
फूलसँग उनका लागि रङहरू सापट लिएको छु
जब भेट्छु यी सबै उपहारले
उनलाई सजाएर एउटा अमर तस्बिर खिच्नुछ
जहाँ जून चक्मकाएको, फूल हाँसेको
र रङहरू फिजिएका हुन् उनका ओठहरूमा।

 

अस्ट्रेलिया