कसैले सोध्यो भने
“कसरी सकिन्छ यो दुर्गन्ध हटाउन ?”
म भनिदिनेछु त्यसबेला, “अत्तर छरेर होइन,
पुष्पगुच्छाहरू भरेर होइन
दुर्गन्धका मुहानहरू बन्द गरेर
दुर्गन्ध हटाउन सकिन्छ…।”

भ्रष्टाचार सामाजिक दुर्गन्धको मुहान हो
सुशासन, समृद्धि र विकासको
भयानक शत्रु हो
आऊ इमानदारिताको तरवारले
छेदन गर्दियौँ भ्रष्टाचारको माथलाई

आऊ पारदर्शिताको धनुमा
कानुनको तीर राखेर
तन्काएर निष्ठताको जोडबलले
ताकेर भ्रष्टाचारको मुटुलाई
सदाकालका लागि श्मशान
पठाउँला भ्रष्टाचारको कलङ्कलाई…

विश्वास र स्वच्छतालाई साथमा लिएर
भ्रष्टाचार विरुद्धको यो महान् युद्ध जितेर
प्राप्त गरौँला विकास र सुशासनले
सुगन्धित त्यो स्वर्णिम रामराज्य

तिमी मलाई मात्र आफ्नो नभन
म पनि तिमीलाई मात्र आफ्नो ठान्दिनँ
“वसुधैव कुटुम्बकम्” को नारा घन्काउँदै
एक ढिक्का भएर
उक्लनु छ नातावाद र कृपावादको
त्यो गहिरो गर्तबाट
र उक्लनुछ उही सौम्य, सुन्दर
सुशासित सगरमाथाको उचाइमा

देश विरुद्धको तिम्रो र मेरो साँठगाँठ
सदाका लागि बन्द गर्दिउँला
“घुस लिन्या र दिन्या”को
त्यो कलुषित सम्बन्ध

एकदिन अध्यात्मयुक्त नैतिकताको
मखमली पछ्यौरीमा
इमान्दारिताको सितारा भरेर
हाम्री नेपाल आमालाई उपहार दिनुछ
एउटा समृद्ध देश
विकसित परिवेश ।

मनिराम मञ्जिल
काठमाडौं